पाँचथर । नेपालमा छ प्रकारका स्थानीय जातका गाई पाइन्छन् । तीमध्ये धेरै गाई अहिले संकटमा छन् ।
नेपालका पाइने स्थानीय गाईको जातमा सबैभन्दा चर्चित गाई हो, अछामी गाई । नौमुठे गाईसमेत भनिने यो संसारकै सबैभन्दा सानो गाई हो ।
१ मिटरभन्दा कम उचाइको हुने यो गाईको तौल अधिकतम १ सय ५० केजीसम्म हुन्छ । दैनिक १ देखि ४ लिटरसम्म दूध दिने यो गाई लोपोन्मुख गाईको सूचीमा छ ।

डोल्पा, मुस्ताङ र मनाङ क्षेत्रमा पाइने रैथाने गाई हो लुलु । जुरो नभएको यो गाई उच्च हिमाली भेगको सुक्खा हावापानीमा हुर्किन सक्छ । यो गाईले दैनिक औसत डेढ लिटर दूध दिन्छ । यो गाई पनि लोपोन्मुख गाईको सूचीमा पर्छ ।
नेपालमा पाइने स्थानीय गाईको भन्दा ठूलो शरीर हुने खैला गाई पनि नेपालको रैथाने गाई हो । दैनिक साढे दुई लिटर दूध दिने यो गाई सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । रिसाहा स्वभावको यो गाई सुदूरपश्चिम क्षेत्रमा अहिले पनि प्रशस्तै पाइन्छ ।
विकट हावापानीमा हुर्किन सक्ने रैथाने गाई हो पहाडी गाई । नेपालका सबैजसो पहाडी क्षेत्रमा पाइने यो गाईले दैनिक १ लिटरसम्म दूध दिन्छ ।
तराईक्षेत्रमा पाइने नेपालको रैथाने गाई हो तराई गाई । गर्मी हावापानीमा हुर्किने यो गाईले दैनिक २ लिटरसम्म दूध दिन्छ ।
पूर्वी पहाडमा सिरी गाई चरम संकटमा छ । दैनिक साढे ४ लिटरसम्म दूध दिने यो गाई पूर्वी पहाडको इलाम क्षेत्रमा पाइन्छ । कुनै समय लोप भयो भनिएको यो गाईको अहिले संरक्षण गर्न थालिएको छ ।
नेपालमा पहिचान भएका छवटा रैथाने गाईमध्ये सिरी गाईले धेरै दूध दिने राष्ट्रिय पुश प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र बताउँछ । उच्च हिमाली क्षेत्रमा पाइने याक र चौँरी पनि नेपालको रैथाने गाईमा पर्छ ।
पशु सेवा विभागका अनुसार रैथाने गाई पाल्ने मानिसको संख्या घट्दो छ । आयातित गाईको तुलनामा कम दूध उत्पादन हुने भएकाले रैथाने गाईपालन गर्ने चलन कम हुँदै गएको विभाग बताउँछ ।