संसद् पुनर्स्थापनाको पक्षमा एमाले, निर्वाचनमा भाग नलिने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले ‘हुननै नसक्ने निर्वाचनमा एमाले नजाने’ बताए। यो अभिव्यक्तिलाई उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूले विरोध गरेका छन्।

बैठकले निर्वाचनको कार्यादेश पाएको वर्तमान सरकारले वातावरण बनाउन असफल भएको आरोप लगाएको छ। एमालेका अनुसार, सरकारले निर्वाचनको तयारी गर्नुभन्दा सत्ता लम्ब्याउने प्रयास गरिरहेको छ।

त्यसैगरी, बैठकले भदौ २३ र २४ मा भएका घटनामा तत्कालीन प्रधानमन्त्री ओलीलाई जवाफदेहीबाट उन्मुक्ति दिएको छ। एमालेको प्रस्तावमा उक्त आन्दोलनलाई आन्तरिक र बाह्य षड्यन्त्रको परिणाम बताइएको छ। तर, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य अरविन्द सिंह लगायत नेताहरूले ओलीले जनतासँग क्षमायाचना गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा अध्यक्ष ओलीले राजीनामा नदिने बताएका छन्। उनका अनुसार, “५५ वर्षदेखि बोकेको जिम्मेवारी पूरा नगरी म पद छोड्दिन।”

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २३ र २४ भदौमा भएका आन्दोलनलाई आन्तरिक र बाह्य षड्यन्त्रको उपज भनेका थिए। ‘भदौ २३ र २४ गते संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणाली र संविधानविरुद्धको आन्तरिक तथा बाह्य षड्यन्त्र भयानक र त्रासदीपूर्ण आक्रमणका रूपमा प्रकट भयो,’ प्रतिवेदनमा भनिएको छ।

अध्यक्ष ओलीले शुक्रबार २३ र २४ भदौमा भएको परिवर्तन सकारात्मक नभई नकारात्मक भएको र प्रतिक्रान्ति भएको बताएका थिए। सामाजिक सञ्जाल निर्बाध सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा जेन-जीले गरेको आन्दोलनमा विमति नभएको भन्दै ओलीले प्रतिवेदनमा सो दिन घुसपैठ भएर परिस्थिति बिगार्ने काम भएको आरोप लगाएका छन्।

२३ र २४ भदौको आन्दोलनले ओलीलाई सत्ताच्युत गरेको थियो। प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा घेरा हालेपछि ओलीले पदबाट राजीनामा दिएका थिए। सेनाले उनलाई हेलिकोप्टरमा राखेर सुरक्षित स्थानमा लगेको थियो। सेनाको सुरक्षा घेराबाट १० दिनपछि सार्वजनिक भएका अध्यक्ष ओलीले २३ र २४ गतेको घटनालाई षड्यन्त्र भन्दै त्यसको जिम्मेवारी लिनबाट पन्छिँदै आएका छन्।

बैठकमा केही केन्द्रीय सदस्यले २३ भदौमा भएको हताहती र विध्वंसमा तत्कालीन प्रधानमन्त्री ओली जवाफदेह हुनुपर्ने धारणा राखेका थिए। बैठकमा सचिव योगेश भट्टराईले आन्दोलनका क्रममा पार्टी नेतृत्व अध्यक्ष ओलीले गरिरहेको भन्दै २३ र २४ भदौको क्षतिका लागि क्षमा माग्नुपर्ने बताएका छन्। ‘यहाँनिर हामीले एउटा तथ्य भुल्नु हुँदैन कि सरकारको नेतृत्व नेकपा (एमाले)ले गरिरहेको थियो। हाम्रो अध्यक्ष कमरेड प्रधानमन्त्री हुनुहुन्थ्यो,’ भट्टराईले बैठकमा भने, ‘जे भयो, त्यसको रक्षा र सुरक्षाको जिम्मेवारी हाम्रो थियो। के कारण सकेनौँ? तर सकेनौँ। यसको जिम्मा लिएर हामीले जनतासँग क्षमायाचना गर्नुपर्छ।’ अध्यक्ष ओलीले अहिले कार्यवाहक नदिए पनि महाधिवेशनपछि भने उनी नेतृत्वमा आउन नहुने धारणा भट्टराईले राखेका थिए।

एमालेले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने निर्णय गरेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *